राजनीति

अध्यक्ष प्रचण्डद्वारा पार्टीका सबै नेता-कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा जुट्न निर्देशन



काठमाडौँ, २४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी लगायतका नदीहरुमा आएको बाढीका कारण जनतामा परेको समस्यालाई समाधान गर्न पार्टीका सबै तहका नेता-कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिनुभएको छ ।

भोटेकोशी तथा मेलम्ची नदीमा आएको बाढीका कारण हालसम्म ठूलो जनधानको क्षति पुगेको अनुमान गरिएको छ । भोटेकोशीमा नेपाल चीन जोड्ने मितेरी पुल बगाएको छ भने दर्जनौं गाडीहरु बगाएको अनुमान गरिएको छ । त्यस्तै मेलम्चीमा आएको बाढीमा फसेका दुई जना नागरिकलाई हेलिकप्टरको माध्यमबाट उद्धार भइरहेको छ । सो घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष प्रचण्डले प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न जोडदार माग गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनाहरूमा गम्भीर क्षति पुगेको छ। बाढीले भएको क्षतिप्रति म गहिरो दुस्ख व्यक्त गर्दछु । प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु। साथै, हाम्रो पार्टीका सबै तहका नेता-कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देसित गर्दछु । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा, सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता छ। म सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ सस्था र नागरिकहरुलाई यो संकटको घडीमा एकजुट भएर कार्य गर्न अपिल गर्दछु ।’