राजनीति

काठमाडौँ महानगरले आइतबार बजेट ल्याउने



काठमाडौँ, २७ असार । काठमाडौँ महानगरपालिकाले आगामी आइतबार (असार २९ गते) बजेट ल्याउने भएको छ ।

आज बसेको महानगरको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको हो । त्यसअघि बिहान ९ बजे कार्यपालिकाको बैठक बस्नेछ ।

कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो । शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए ।

बालेनले असार २९ गते दिउँसो २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव राखे । उपस्थित कार्यपालिका सदस्यहरूले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो । लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरे ।