समाचार

कञ्चनपुरमा औलोको जोखिम बढ्दै



कञ्चनपुर, २८ असार । कञ्चनपुरमा औलोको जोखिम बढ्दै जान थालेको छ ।

एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलोका आयातित बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो । 

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको हालसम्म औलोबाट जिल्लामा ५६ जना सङ्क्रमित भएका छन् । भारत र अफ्रिकन मुलुकबाट फर्केका व्यक्तिहरूमा औलोको सङ्क्रमण उच्च रहेको पाइएको छ । भारतबाट फर्केका ५२ जना, अफ्रिकन मुलुकबाट फर्केका दुई जना र स्थानीय दुई जनामा औलोको सङ्क्रमण देखा परेको हो । 

औलो सङ्क्रमितमध्ये प्लाज्मोडियम फाल्सिपारमबाट १२ जना र प्याज्मोडियम भाइभेक्सबाट ४४ जना बिरामी सङ्क्रमित भएको पाइएका छन् । गत वर्षको यसै अवधिमा भारतलगायत मुलुकबाट फर्केका २९ जनामा औलोको सङ्क्रमण देखा परेको थियो ।