राजनीति

माओवादीको केन्द्रीय समिति बैठक वर्षा सकिएपछि मात्र बस्ने



काठमाडौँ, ३१ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक वर्षा सकिएपछि मात्र बस्ने भएको छ ।

गत वर्षको पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार असारभित्र बैठक बस्नुपर्ने थियो । तर मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियान सम्पन्न नभएकाले भदौसम्म केन्द्रीय समिति बैठक बस्ने सम्भावना नभएको उपमहासचिव हरिबोल गजुरेलले बताए । 

जेठको पहिलो हप्तासम्म पूर्व–पश्चिम हुलाकी मार्ग र मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियान सम्पन्न गरेपछि असारमा केन्द्रीय समिति बैठक बोलाउने, त्यस बैठकले महाधिवेशन मिति घोषणा गर्ने निर्णय भएको थियो । असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउन १५ गतेभित्र स्थायी समिति बैठक बोलाउने निर्णय गरेकाले केन्द्रीय समिति बैठक भदौयता बस्ने सम्भावना देखिँदैन । 

उनका अनुसार मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सकिएको छैन । अभियान सकिएपछि मात्र केन्द्रीय समिति बैठक बस्छ । साउनको दोस्रो साता स्थायी समिति बैठक बोलाइएको छ । सोही बैठकले केन्द्रीय समिति बैठक बोलाउँछ । यस हिसाबले भदौयता बैठक बस्ने सम्भावना छैन ।