समाचार

लागू औषधसहित पाँच जना पक्राउ



सुनसरी, ३ साउन । सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

कोशी गाउँपालिका–१ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले शुक्रबार चेकजाँचको क्रममा कोशी गाउँपालिका–२ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ वर्षीय रञ्जित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद गरी पक्राउ गरेको हो ।

यस्तै, इनरुवा नगरपालिका–४ बाट बराहक्षेत्र नगरपालिका–९ का १९ वर्षीय प्रवीण विष्ट र मोरङ बेलवारी नगरपालिका–९ का अमृत तामाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ थान लागू औषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान–१३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजा सहित पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा लागू औषध नियन्त्रण ऐनअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।