राजनीति

उपाध्यक्ष गिरीलाई हटाउने निर्णयप्रति जिल्ला अध्यक्षहरूको आपत्ति



काठमाडौँ, ५ साउन ।  उपाध्यक्ष पदबाट पदमुक्त गरिएका मुकुन्दश्याम गिरीलाई पदबाट हटाउने निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कर्णाली प्रदेशका जिल्लास्तरीय अध्यक्षहरूले गम्भीर आपत्ति जनाएका छन् ।

पार्टी स्थापना कालदेखि नै सक्रिय रहेका गिरीलाई हटाएको भन्दै उनीहरूले पार्टी केन्द्रीय नेतृत्वलाई एक सामूहिक अपिल समेत गरेका हुन् । उनीहरूका अनुसार यो निर्णयले कर्णाली प्रदेशमा पार्टी संगठनलाई थप कमजोर बनाउने र कार्यकर्तामा निराशा फैलाउने खतरा उत्पन्न भएको छ।

जिल्ला अध्यक्षहरूद्वारा जारी अपिलमा उल्लेख छ, ‘गिरीज्यूको पार्टीप्रतिको समर्पण, योगदान, त्याग र निष्ठाको मूल्याङ्कन नगरी गरिएको यो निर्णय न त पारदर्शी हो, न नै विधानसम्मत ।’

उनीहरूले पार्टीको बृहत्तर हित र आन्तरिक एकतालाई ध्यानमा राख्दै, गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट हटाउने निर्णय तुरुन्त फिर्ता गरी उनलाई पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापित गर्न केन्द्रीय अध्यक्षको ध्यानाकर्षण गराएका छन् ।