राजनीति

सत्तामै भएकै आधारमा अतिरिक्त सुविधा पाउनुहुँदैन : महामन्त्री थापा



चितवन, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तामा भएकै आधारमा अतिरिक्त सुविधा पाउन नहुने बताएका छन् ।

बीपी स्मृति दिवसका अवसरमा चितवनमा मंगलबार बोल्दै महामन्त्री थापाले बलियो, शक्तिशाली वा सत्तामा बसेको भएपनि गलत गरेको भए गलतै हुने उनले बताए । सार्वजनिक ओहदामा बसेको व्यक्तिले भ्रष्टाचार गरे त्यसको भारी व्यक्ति स्वयंले बोक्नुपर्ने महामन्त्री थापाको भनाइ छ । पार्टी र कार्यकर्ताले उसको दोषको भारी बोक्न नसक्ने बताए ।

उनले भने, ‘अतिरिक्त सुविधा प्राप्त गर्नु पर्छ भन्ने होइन, चाहे जोसुकै होस् शक्तिशाली होस्, सत्तामा बसेको मान्छे होस्, बलियो मान्छे होस् गलत गलतै हुन्छ,सही सही नै हुन्छ भनेर भन्ने कांग्रेस पार्टीको यो दृष्टिकोण दायाँ बायाँ कहिले पनि हुनुहुन्न । कानुनको शासन भएको देशमा कानुनले जे भन्छ त्यही ठहरिन्छ त्यही हुनुपर्छ, बीपी कोइरालाले सिकाएको कुरा यही नै हो । वैयक्तिक जीवन होस् चाहे पार्टी जीवनमा, म त्यो बेलामा गलत ठाउँमा छु भने तपाईले मेरो संरक्षण गर्ने होइन, तपाईंले मेरो वकालत गर्ने पनि होइन, तपाईले कांग्रेस भएको कारणले गर्दा यसले अतिरिक्त सुविधा प्राप्त गर्नु पर्छ भन्ने पनि होइन ।’