विश्व

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर



एजेन्सी, १० साउन । इन्डोनेसियाको केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार, हाल देशमा गरिबी दर पछिल्ला दुई दशकमा सबैभन्दा न्यून रहेको जनाइएको छ ।

कार्यालयका अनुसार सन् २०२५ को मार्च महिनासम्म झन्डै दुई करोड ३८ लाख ५० हजार नागरिक गरिबीको रेखामुनि रहेका छन्, जुन देशको कुल जनसंख्याको करिब ८ दशमलव ४७ प्रतिशत हो ।

तथ्याङ्क कार्यालयले प्रतिमहिना ६ लाख नौ हजार १६० इन्डोनेसियाली रुपियाँभन्दा कम आम्दानी भएका व्यक्तिहरूलाई गरिबको श्रेणीमा राख्ने गरेको छ ।

कार्यालयका वरिष्ठ अधिकारी आतेंग हार्तोनोले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने,“हाल देखिएको गरिबी दर विगत बीस वर्षमा सबैभन्दा न्यून हो, जुन हामी सबैका लागि सुखद कुरा हो।”

तर उनले सहर र गाउँबीच अझै पनि उल्लेखनीय आर्थिक अन्तर रहेको र ग्रामीण क्षेत्रमा गरिबीको दर केही बढी देखिएको कुरामा ध्यानाकर्षण गराए।

यसैबिच, विगत हप्तामा इन्डोनेसियाले संयुक्त राज्य अमेरिकासँग गरेको व्यापार सम्झौताले पनि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । उक्त सम्झौता अनुसार, इन्डोनेसियाबाट अमेरिका पठाइने सामानमा अब १९ प्रतिशत भन्सार शुल्क लाग्नेछ, जुन पहिले भनिएको ३२ प्रतिशतको सम्भावित दरभन्दा कम हो ।

संयुक्त राज्यका तर्फबाट जानकारी दिइएअनुसार, अब करिब सबैजसो अमेरिकी सामानहरू इन्डोनेसियामा भन्सार शुल्कबिना नै आयात गर्न सकिनेछन् ।