समाचार

नागको पूजा गरेर आज नागपञ्चमी पर्व मनाइँदै



काठमाडौँ, १३ साउन । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको डा भट्टराईले बताए । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको छ ।

प्रथम पूजाको अधिकार पाएका भगवान् श्री गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रूपमा जन्म लिएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रूपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।