राजनीति

बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन 



मकवानपुर, १४ साउन । बागमतीका प्रदेश कांग्रेस संसदीय दलको नयाँ नेता चयनका लागि बुधबार निर्वाचन हुने भएको छ । 

मुख्यमन्त्री बहादुरसिंह लामाले दलको नेताको हैसियत गुमाएका छन् । लामाविरुद्धको अविश्वासको प्रस्तावमा मंगलबार भएको मतविभाजनमा कांग्रेसका ३७ सांसदमध्ये २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए ।

कांग्रेस प्रदेश कार्यसम्पादन समितिले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । निर्वाचन समितिमा प्रदेश सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य छन् । निर्वाचन समितिले बुधबार बिहान ८ बजे मतदाता नमावली प्रकाशन र दिउँसो २ बजेदेखि मतदानको समय तोकेको छ ।

मतविभाजनमा मुख्यमन्त्री लामाका पक्षमा १५ जना मात्र देखिएका छन् । अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्नेहरू कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँ पक्षधर हुन् । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन् ।