काठमाडौँ, १४ साउन । नेपाल–भारत सीमा कार्यदल (बीडब्लूजी–बाउन्ड्री वर्किङ ग्रुप) को सातौं बैठक सीमा क्षेत्र (दशगजा) मा गर्नुपर्ने आवश्यक प्राविधिक कार्यहरूको ३ वर्षे कार्ययोजना स्वीकृत गर्दै मंगलबार नयाँदिल्लीमा सम्पन्न भएको छ ।
दिल्लीको सुष्मा स्वराज भवनमा सोमबार र मंगलबार दुई दिनसम्म बैठक चलेको थियो । बीडब्लूजी बैठकमा नेपालका तर्फबाट नापी विभागका महानिर्देशक प्रकाश जोशी तथा भारतका तर्फबाट सर्वेक्षण विभागका प्रमुख हितेश कुमारले बैठकको नेतृत्व गरेका थिए । बैठकमा भारतीय विदेश मन्त्रालय तथा नेपालका परराष्ट्र मन्त्रालय, सशस्त्र प्रहरी बल, एसएसबीलगायतका निकायबाट प्रतिनिधित्व थियो । दुईपक्षीय बैठक हुन नसक्दा पछिल्लो ६ वर्षदेखि सीमा क्षेत्रमा गरिनुपर्ने प्राविधिक कार्यहरू रोकिएको थियो ।
बैठकमा प्रमुख जोशीले ३ वर्षे कार्ययोजना स्वीकृत गर्दै बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न भएको बताए । बीडब्लूजीले लिएको निर्णयलाई फिल्डमा कार्यान्वयन गर्ने जिम्मेवारी दुवै देशका अधिकारीको रहेको नापी पदाधिकारी समिति (सर्भे अफिसियल्स कमिटी–एसओसी) को रहन्छ । एसओसीको बैठक काठमाडौंमा गर्ने र फिल्ड वर्कलाई अगाडि बढाउने सहमतिसमेत भएको छ ।
दुवै पक्षको सहमतिमा तय हुने मितिमा आगामी महिना एससीओको बैठक बस्नेछ । भारतीय विदेश मन्त्रालयले पनि मंगलबार विज्ञप्ति जारी गर्दै सीमा स्तम्भको निरीक्षण, मर्मत र संरक्षणका कार्यलाई छिटो अघि बढाउन दुवै पक्ष सहमत भएको जनाएको छ ।
नेपाल–भारत सीमा कार्यदलको बैठक मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको परराष्ट्रको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा बीडब्लूजी र यससँग सम्बन्धित अन्य संयन्त्रलाई थप प्रभावकारी बनाउने सहमति भएको पनि उल्लेख गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निरीक्षण, मर्मत र संरक्षण, नापजाँच र नक्सांकन कार्यहरू बढाइने नेपाली टोली नेता जोशीले बताए ।
सन् २०१९ मा देहरादुनमा सम्पन्न छैटौं बीडब्लूजी तथा एसओसीको बैठकपश्चात् भएका कार्यहरूको समीक्षा, आगामी दिनका कार्ययोजना र फिल्डमा यथाशक्य छिटो कार्य बढाउने मुख्य ३ विषयमा बैठकमा छलफल भएको जनाइएको छ ।
बैठकमा ६ वर्ष अगाडि सन् २०१९ मा छैटौं बैठकपछिका कार्य प्रगतिको समीक्षा दुवै पक्षले गरेका थिए । सीमासम्बन्धी कार्यहरूमा नयाँ प्रविधिको प्रयोग गर्न पनि दुवै पक्षबीच सहमति बनेको छ । लामो समयदेखि संयन्त्रको बैठक नबस्दा थाती रहेका कामहरू अगाडि बढाउन पनि दुवै पक्ष सहमत भएका छन् ।










प्रतिक्रिया दिनुहोस्