Banner News

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान जाँदै



काठमाडौँ, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार तुर्कमेनिस्तान जाने भएका छन् ।

भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो राष्ट्रसंघीय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी तुर्कमेनिस्तान जान लागेका हुन् ।

सम्मेलन साउन २० गतेदेखि २५ गतेसम्म तुर्कमेनिस्तानको अवाजामा आयोजना हुँदै छ । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महामहिम एन्टोनियो गुटेरेसको निमन्त्रणमा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सम्मेलनको उच्चस्तरीय गोलमेच सम्मेलनको सह–अध्यक्षता गर्नुका साथै अन्य कार्यक्रमहरूलाई पनि सम्बोधन गर्नेछन् ।

यसबाहेक, प्रधानमन्त्री ओलीले सम्मेलनको साइडलाइनमा विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरू, संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका उच्चस्तरीय व्यक्तिहरूसँग भेट गर्ने कार्यक्रम छ ।