राजनीति

शेरबहादुर देउवा सबैको अभिभावक हुनुपर्छ : शेखर कोइराला



विराटनगर, १७ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझाव दिएका छन् ।

नेपाली कांग्रेस विराटनगर–४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अरू पार्टीका नेतालाई घरमै बोलाएर चिया ख्वाउन र देशमा देखिएका समस्याबारे छलफल गर्न देउवालाई सुझाव दिए । 

उनले भने, ‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन । उहाँले त सबै दलका नेतालाई घरमै बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ । तर उहाँ सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गर्नुहुन्छ । नेता भएपछि सबैसित भेट्नुपर्छ । त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजीलगायतसित भेट गरेको हुँ । विगतमा ओलीजी सत्ताबाहिर हुँदा पनि मैले भेटेकै हुँ ।’ 

उनले कांग्रेस कमजोर भएमा लोकतन्त्र र देश नै कमजोर हुने धारणा राखे । लोकतन्त्रको पर्यावाची नै कांग्रेस भएको उल्लेख गर्दै उनले कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्रै होइन देश नै कमजोर हुने दावी गरे ।