काठमाडौँ, २० साउन । माओवादीले सार्वजनिक मञ्चमा पार्टी र नेतृत्वको आलोचना नगर्ने निर्णय गरेको छ ।
सोमबार सकिएको स्थायी समिति बैठकले पार्टी निर्णयविपरीत कुनै नेताले बोले कारबाहीको दायरामा ल्याउने चेतावनी पनि दिएको छ । माओवादी उपमहासचिव जनार्दन शर्माले नेतृत्वविरुद्ध सार्वजनिक मञ्चबाटै टीकाटिप्पणी गर्दै आएको पृष्ठभूमिमा स्थायी समिति बैठकले पार्टी पद्धतिअनुसार मात्र धारणा राख्न नेताहरूलाई निर्देशन दिएको हो ।
स्थायी समितिले पार्टीभित्र गुट वा उपगुट बनाउने प्रवृत्तिलाई विधिसम्मत रूपमा नियन्त्रण गर्ने र त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव शर्माबीच देखिँदै आएको मतभेदलाई स्थायी समिति बैठकले मत्थर पारेको माओवादीका एक नेताले जानकारी दिए । ‘पार्टी पुनर्निर्माणका लागि एकताबद्ध हुने निर्णयसहित सहमति भएकाले दुई नेताबीचको मतभेद थामिएको छ,’ ती नेताले भने, ‘पार्टीले आन्तरिक एकता मजबुत बनाउने निर्णय गरेको छ ।’
उपमहासचिव शर्माले सार्वजनिक मञ्चबाटै अध्यक्ष दाहालको नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका थिए । अध्यक्ष दाहालले पनि उनको अभिव्यक्तिमाथि टिप्पणी गरेका थिए । स्थायी समिति बैठकमा ४६ मध्ये ४० नेताले पार्टी प्रणाली बाहिर गएर धारणा राखेको भन्दै शर्मालाई लिखित आत्मालोचना गर्न दबाब दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्