समाचार

सप्तरीमा गोली चल्यो, एक जनाको मृत्यु



काठमाडौँ, २१ साउन । सप्तरीमा मदिरा नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजगड गाउँपालिका  वडा नम्बर–२ निवासी लालु यादवको रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ । 

मदिरा भण्डार गरिएको ठाउँमा राती सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको हो । 

प्रहरीका अनुसार सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएको थियो, सोही सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबिच झडप भएको हो । 

उनीहरुले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्म रक्षाको लागि प्रहरीले ७ राउन्ड गोली चलाएको हो । जस क्रममा यादवको तिघ्रामा गोली लागि घाइते भएका थिए । अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

राजगड गाउँपालिका  वडा नम्बर–२ स्थित नेपाल–भारतको सीमामा सर्च अप्रेसन गर्दा तस्कर र प्रहरीबिच भीडन्त भएको थियो ।  उक्त ठाउँबाट प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको रक्सी बरामद गरेको जनाएको छ ।