राजनीति

राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित



काठमाडौँ, २३ साउन । जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि सभामा छलफल गरिएको थियो ।

छलफलका क्रममा सांसद विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले विधेयकका विभिन्न प्रावधानप्रति सुझाव, जिज्ञासा र टिप्पणी व्यक्त गरे ।

सांसदहरूको जिज्ञासामा प्रतिक्रिया दिँदै मन्त्री खड्काले जलस्रोतको दीर्घकालीन र दिगो उपयोग तथा प्रभावकारी व्यवस्थापनलाई लक्ष्य गरी विधेयक ल्याइएको जानकारी दिए ।

उनका अनुसार संविधानले समावेशी अधिकार सुनिश्चित गरिसकेको सन्दर्भमा विधेयकमा थप रूपमा दलितसम्बन्धी पृथक व्यवस्था गर्नुपर्ने आवश्यकता नरहेको विषयमा समितिका सदस्यबिच सहमति जुटेकाले त्यसअनुसार विधेयक तयार पारिएको हो ।