काठमाडौँ, २४ साउन । नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनामा ऋण लगानी सुनिश्चित भएको छ ।
३४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्ध जलाशययुक्त जलविद्युत् (पीआरओआर) आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले संयुक्त रूपमा साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को नेतृत्वमा कन्सोर्टियम मोडलमा लगानी व्यवस्थापन गरिएको आयोजना प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीले जनाएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा टाइम्स इनर्जीका तर्फबाट सञ्चालक सुशील थापा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
आयोजनाको कुल अनुमानित लागत ७० अर्ब रुपैयाँ छ । त्यसमध्ये ७५ प्रतिशत अर्थात् साढे ५२ अर्ब रुपैयाँ ऋणमार्फत जुटाइनेछ भने बाँकी २५ प्रतिशत प्रवर्द्धकको स्वपुँजी रहनेछ । प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीमा साहस ऊर्जा लिमिटेडको ५१ प्रतिशत स्वामित्व छ । सोहीअनुसार साहस ऊर्जाले स्वपुँजी लगानीको अधिकांश हिस्सा बेहोर्ने कम्पनीले जनाएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल, लक्ष्मी सनराइज र ग्लोबल आईएमई बैंकले सहनेतृत्वमा ऋण लगानी गर्न लागेको हो । एनआईएमबीको १० अर्ब, नबिल बैंकको ८ अर्ब, लक्ष्मी सनराइज बैंकको ८ अर्ब, ग्लोबल आईएमई बैंकको ७ अर्ब, माछापुच्छ्रे बैंकको ४ अर्ब, सिटिजन्स बैंकको ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३ अर्ब, प्रभु बैंकको ३ अर्ब, कृषि विकास बैंकको २ अर्ब ५० करोड र हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीको ४ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ । बुढीगण्डकी जलविद्युत् आयोजना साहस ऊर्जा लिमिटेडले प्रवर्द्धन गरेको सबैभन्दा ठूलो हो । यसअघि २८५ मेगावाटको माथिल्लो तमोर र २१६ मेगावाटको माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ । सञ्चालनमा आइसकेका आयोजनामध्ये ८६ मेगावाटको सोलुखोला दूधकोशी नै निजी क्षेत्रबाट निर्माण सकिएको ठूलो आयोजना हो ।
गोर्खाको चुमनुब्री गाउँपालिका–३ मा बुढीगण्डकी अर्ध जलाशययुक्त आयोजनाको बाँध निर्माण गरिनेछ । विद्युत् गृह भने धार्चे गाउँपालिका–३ मा रहने जनाइएको छ । बाँध र पावर हाउसको बीचमा झन्डै १० किलोमिटर दूरी छ । पावर हाउस भूमिगत हुने आयोजनामा ३ सय ९८ मिटर लामो हेड (पानी खस्ने उचाइ), ६.९ किलोमिटर सुरुङ र ५६.८ मेगावाट क्षमताका ६ वटा टर्बाइन रहनेछन् । बाँधमा १७ लाख ६० हजार घनमिटर पानी सञ्चित गर्न सकिनेछ, जसबाट दिनको ६ घण्टासम्म विद्युत् उत्पादन गरिनेछ ।
आयोजना सञ्चालन भएपछि वार्षिक औसत १८६७.७७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । मुख्य सुक्खायाममा ३२०.३० गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ गिगावाट र वर्षायाममा १३०४.०४ गिगावाट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजना सञ्चालनका लागि आवश्यक ‘डिजाइन डिस्चार्ज’ १००.२५ घनमिटर प्रतिसेकेन्ड छ ।
टाइम्स इनर्जीले आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्नेछ । प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) अनुसार वर्षायाममा प्रतियुनिट ४.८०, हिउँदमा ८.४० र पिक समयमा १०.५५ रुपैयाँ दरमा प्राधिकरणले बिजुली खरिद गरिनेछ । उत्पादित विद्युत् करिब ४५ किलोमिटर लामो २२० केभी प्रसारण लाइनमार्फत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत निर्माणाधीन ४०० केभी क्षमताको नुवाकोटस्थित रातामाटे सबस्टेसनमा जोडिनेछ ।
कम्पनीका अनुसार आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ५३ लाख रुपैयाँ पर्छ । लगानी प्रतिफल दर १६.९९ प्रतिशत रहने अनुमान छ । सम्भाव्यता अध्ययनअनुसार आयोजनाबाट साढे ५ वर्षभित्र लगानी फिर्ता हुन सक्नेछ । आयोजनाको ‘नेट प्रेजेन्ट भ्यालु’ २३ अर्ब २४ करोड रुपैयाँ रहेको कम्पनीले बताएको छ ।
साहस ऊर्जाले २०८० पुसमा टाइम्स इनर्जीको ५१ प्रतिशत सेयर खरिद गरेको थियो । त्यसपछि विद्युत् विकास विभागबाट आयोजना निर्माण तथा उत्पादनको अनुमति प्राप्त गरिसकेको छ । कम्पनीले २०८७ सालको पुस १७ भित्र आयोजनाबाट व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।










प्रतिक्रिया दिनुहोस्