समाचार

गर्भवती र सुत्केरीको हेलिकप्टरद्वारा उद्धार



काठमाडौँ, २६ साउन । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका स्वास्थ्य अवस्था गम्भीर भएका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

पछिल्ला दुई दिनको अवधिमा स्वास्थ्य अवस्था गम्भीर भएकी सुत्केरी र गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

आइतबार महाभारत गाउँपालिका–६ बनमुढीकी २५ वर्षीया सुनिता मोक्तान र शनिबार महाभारत गाउँपालिका–१ निवासी २० वर्षीया सुजिता थिङलाई हेलिकप्टबार उद्धार गरी काठमाडौँ पुर्‍याइएको हो ।

सुजिता थिङ सुत्केरी पश्चात् पिसाब रोकिने गम्भीर स्वास्थ्य समस्यामा परेकी थिइन् । सुरुमा गोठगाउँ स्वास्थ्य चौकीमा उपचार गराइएको थियो । तर थप जटिलता हुनसक्ने देखिएपछि स्वास्थ्यकर्मीहरूको सिफारिसमा हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल, प्रसूति तथा स्त्रीरोग विभागमा पुर्‍याइएको हो ।

त्यसैगरी आइतबार महाभारत गाउँपालिका–६ बनमुढीकी २५ वर्षीया सुनिता मोक्तान लामो समयसम्मको प्रसव पीडाका कारण स्वास्थ्य गम्भिर बनेको थियो । स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि मोक्तानलाई नेपाली सेनाको हेली एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल, प्रसूति तथा स्त्रीरोग विभागमा पठाइएको थियो ।

राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा नि:शुल्क रुपमा नेपाली सेनाको हेली एम्बुलेन्स मार्फत उद्धार भएको पालिकाले जनाएको छ ।