राजनीति

नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता



काठमाडौँ, २६ साउन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । 

श्रेष्ठ र यादवबिच आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भएको भेटमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा सङ्घर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत छलफल गरिएको बुझिएको छ ।

भेटमा यथास्थितिको अन्त्य, लोकतान्त्रिक उपलब्धिहरूको रक्षा तथा समृद्ध नेपाल निर्माण गर्दै समाजवादको दिशातर्फ अघि बढ्न आवश्यक कदमबारे विचार विमर्श भएको स्रोतले जनाएको छ । साथै, सङ्घर्षशील शक्तिहरूले अहिलेको परिस्थितिलाई सम्बोधन गर्दै सकारात्मक निकासका लागि नयाँ पहल र कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ । आ–आफ्ना कमजोरीका सम्बन्धमा आत्मालोचना गर्दै एकताबद्ध भूमिकामा कसरी अघि बढ्ने भन्ने विषयमा पनि भेटवार्तामा ध्यान केन्द्रित गरिएको बताइएको छ ।