समाचार

पहिचानविहीन ठकुरीलाई नागरिकता प्रदान



काठमाडौँ, २७ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।

लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उनलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिए ।

उनका अनुसार ७० वर्ष पहिला आँबुखैरेनी आएकी उनको परिवारका बारेमा कसैलाई पनि जानकारी छैन । सबैले दुर्गा ठकुरी भनेर चिनीने उनलाई नागरिकता नहुँदा पहिचानविहीन भएपछि नागरिकता बनाउन सहजीकरण गरेको हो ।

वडाध्यक्ष केसीले सबै आवश्यक प्रक्रिया पूरा गरेर प्रशासन कार्यालयमा सोमबार उनलाई नागरिकता प्रदान गरिएको जानकारी दिए ।