कञ्चनपुर, २८ साउन । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको हो ।
बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजारमा रहेका ३९ वटा छाउगोठ भत्काइएको छ । स्थानीय प्रतिनिधि, सङ्घसंस्था, प्रहरी र स्थानीय व्यक्तिको उपस्थितिमा छाउगोठ भत्काइएको हो ।
गत असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीय कमला दमाइको छाउगोठमा बसेका बेला सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय यहाँका सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि छाउगोठ रहेका पालिकामा स्थानीय जनप्रतिनिधि र प्रहरीले छाउगोठ भत्काउन थालेका हुन् ।
बेदकोट नगरपालिका–१० का अध्यक्ष रतनसिंह विष्टले पनि बेदकोटमा वडा ४ र १० ले २३ वटा छाउगोठ भत्काएको जानकारी दिए । छाउगोठ भत्काएका परिवारलाई बोलाएर अभिमुखीकरण गर्ने तयारीमा रहेको उनले बताए । उनले छाउगोठ बनाउने समुदायलाई कुरीतिका विषयमा सचेत गराउनुपर्ने जरुरी रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्