Banner News

कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन: मन्त्री खड्का



काठमाडौँ, ३१ साउन ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसकिने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार प्राधिकरणमा कार्यरत कर्मचारीलाई दीर्घसेवा पदक, अवकाश पदक र अमर विद्युत्कर्मीलाई सम्मान कार्यक्रममा उनले काम गर्ने ज्यालादारी कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताए ।

“विद्युत् क्षेत्रको विकासका लागि ज्यालादारी कर्मचारीले धेरै काम गरेका छन्, ज्यालादारी कर्मचारीले राखेको माग सम्बोधन गर्न प्राधिकरण सञ्चालक समिति लागेको छ”, उनले भने ।

ऊर्जामन्त्री खड्काले सरकारले सबैभन्दा चाँडो मुलुकलाई समृद्ध बनाउने क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई देखेकाले यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न विद्युत् प्राधिकरणको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

मन्त्री खड्काले गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन नसकेसम्म मुलुकको विकास हुन नसक्ने भन्दै गरिबका लागि बिना धितो जलविद्युत्को सेयरमा ऋण उपलब्ध गराउन सरकार लागेको बताए। नेपालसँग भएको स्रोत साधनको उच्च प्रयोग गर्दै सरकार अगाडि बढ्न खोजेको मन्त्री खड्काको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले बूढीगण्डकी, अपर अरुण, तमोर, पञ्चेश्वर, दूधकोशी, पश्चिम सेतीलगायत ठूला जलविद्युत् आयोजनालाई सरकारले चाँडो अगाडि बढाउन खोजेको उल्लेख गरे । उनले प्राधिकरण स्थापनाको ४० वर्षमा पनि ऊर्जालाई सुरक्षित र भरपर्दो रूपमा विकास गर्न नसकिएको बताए ।

मन्त्री खड्काले उद्योगले प्रयोग गरेको बिजुलीको पैसा टिओडी मिटरका आधारमा असुल गर्ने काम नेपाल विद्युत् प्राधिकरणको भएको भन्दै डेडिकेटेड र ट्रङ्कलाइनको विषयमा अलमलिएर बस्ने कुनै ठाउँ नभएको उल्लेख गरे ।