महोत्तरी, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न नदिइने बताएका छन् ।
शुक्रबार महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुरमा रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर सडक शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले सरकार आमजनताको विकास चाहनालाई मूर्तरूप दिन काम गरिरहेको उल्लेख गरे । मधेसका रौतहट, सर्लाही र महोत्तरी जिलाको सिँचाइ प्रबन्धका लागि सुनकोशी मरिन डाइभर्सनको कामअघि बढेको प्रधानमन्त्रीले उल्लेख गरे । यसैगरी पूर्वी मधेसका जिल्लाको थप सिँचाइ प्रबन्धका लागि सुनकोशी कमला डाइभर्सनको काम बढाइने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले पूर्वपश्चिम हुलाकी राजमार्गको काम निकै अघि बढेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने, “सरकार विकास कार्यलाई द्रूत गतिमा बढाइ रहेको छ । मधेसमा यसको अनुभूति हुने गरी कामअघि बढेका छन् । पूर्वपश्चिम हुलाकी सडकको काम त सकिएको हुन्थ्यो, तर केही ठाउँका पुलपुलेसा बन्न बाँकी रहेको र केही ठाउँमा आरक्ष क्षेत्र पर्दा केही अल्झेको छ । सरकार यसलाई चाँडै निक्र्योल गरेरअघि बढ्ने छ ।”










प्रतिक्रिया दिनुहोस्