समाचार

गुल्मीमा एक महिनामा ५ सडक ३८ पटक अवरुद्ध



काठमाडौँ, ३ भदौ । गुल्मी जिल्लामा लगातारको वर्षा र पहिरोका कारण सडक अवरोधको समस्या बढेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन महिनाको एक महिनाको अवधिमा जिल्लाका पाँच वटा मुख्य सडकहरु जम्मा ३८ पटकसम्म अवरुद्ध भएका छन् । सडक अवरोधका कारण २१२ घण्टासम्म सवारीसाधन चल्न नसकेको बताइएको छ ।

प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी अवरोध रुद्रावेणी-वामीटक्सार सडक खण्डमा भएको हो । यो सडक मात्र साउन महिनाभरि १७ पटक पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यो सडकको डहरे खोलामा पक्की पुल अभावले अवरुद्ध हुने गरेको छ । बारम्बारको अवरोधले यात्रु, व्यापारी र स्थानीय बासिन्दालाई ठूलो सास्ती भएको छ ।

त्यस्तै कालिगण्डकी करिडोर, जुन राष्ट्रिय गौरवको आयोजनामार्फत निर्माणाधीन छ । साउन महिनामा १३ पटक अवरुद्ध भएको छ । अन्य तीन सडकहरू रिडी–तम्घास, रिडी-खज्याङ, र पनाहा-धुर्कोट-जैसिथोक सडक पनि पहिरोका कारण प्रभावित भएका छन् ।