समाचार

वीरगञ्जमा हैजाका बिरामी फेला



काठमाडौँ, ७ भदौ । वीरगञ्ज महानगर–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी फेला परेका छन् ।

वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालयसहितको टोली हैजा देखिएको ठाउँमा खटिएको छ ।

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले हैजाका बिरामी भेटिएको र प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए । वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरै झाडापखालासहित अस्पताल भर्ना भएका थिए । एकैपटक धेरैको सङ्ख्यामा बिरामी आएपछि वीरगञ्ज महानगरमा खबर गरिएको थियो ।

नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वयमा गरिएको परीक्षणका क्रममा तीन जना बिरामीमा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको छ ।

वीरगञ्ज महानगरको स्वास्थ्य शाखा प्रमुख राजु शाहले तीन जना बिरामीमा हैजाको सङ्क्रमण देखिएको र तीमध्ये एक जना किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिए  ।

सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन् । मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाडौँको टेकु प्रयोगशालामा पठाइएको छ । महानगरका अनुसार हैजा थप फैलन नदिन टोलबासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।