राजनीति

एमसीसी सम्झौता नेपालको सार्वभौमसत्ता र संविधानविपरीत : नेता खनाल



काठमाडौँ, ८ भदौ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भूराजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको टिप्पणी गरेका छन् ।

आज काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता खनालले नेपाल र एमसीसीबीचको सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाईअघि बढाउने उपकरण भएको जिकिर गरे ।

एमसीसी सम्झौताले चीन र भारतसँग नेपालको भूराजनीतिक सन्तुलनमाथि गम्भीर असर पुर्‍याएको उनको बुझाइ छ । उनले एमसीसी सम्झौता संसद्‌बाट असामान्य ढंगबाट अनुमोदन भएकोसमेत बताए । संसद्‌मा छलफल नै नगरी एमसीसी पास गरिएको घटना आश्चर्यजनक नाटक भएको खनाल बताउँछन् ।

एमसीसी सम्झौताले नेपाललाई भारतसँगमात्र विद्युत् व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै उनले यसले भारतीय एकाधिकार बलियो बनाउने खतरा जिकिर गरे ।

एमसीसीबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई चुनौती दिने कुनै पनि प्रावधान स्वीकार्य नहुने बताए ।