राजनीति

तीजले सामाजिक समरसता कायम गर्छ: उपराष्ट्रपति यादव



काठमाडौँ, १० भदौ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचानलाई जोगाउन र सामाजिक समरसता कायम गर्ने विश्वास व्यक्त गरेका छन् । 

हरितालिका तीज, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि  शुभकामना व्यक्त गर्दै उनले भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व धार्मिक आस्था, सांस्कृतिक गौरव र पारिवारिक प्रेमको अनुपम प्रतीक भएको बताए । 

उनले शुभकामना सन्देशमा भनेका छन्, “प्रकृतिको हरियालीले सिँगारिएको मौसममा मनाइने यो पर्व उत्सव, उमङ्ग, उल्लास र आत्मीय मिलनको सन्देश बोकेर आउँछ, नेपाली समाजको बहुरङ्गी संस्कृति र विविध परम्पराबिच मनाइने यो पर्वले हामीलाई एकता, सहिष्णुता र आपसी सद्भावको मार्गमा अग्रसर हुन सघाउँदछ ।”