अर्थ

मधेशको मुख्यमन्त्री कार्यालयबाट ६ वटा सफ्टवेयर गायब



जनकपुरधाम, १३ भदौ । मधेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ६५ लाख रुपैयाँमा खरिद गरेका ६ वटा सफ्टवेयर कार्यालयमै नल्याई गायब पारिएको छ ।

कार्यालयले इनभेन्ट्री म्यानेजमेन्ट इनफरमेसन सिस्टम (आईएमआईएस), अफिस अटोनोमेसन सिस्टम (ओएएस), पर्सनल इनफरमेसन सिस्टम (पीपीआईएस), कन्ट्रयाक्ट म्यानेजमेन्ट इनफरमेसन सिस्टम (सीएमआईएस), प्रोजेक्ट परफरमेन्स सिस्टम (पीपीआईएस) र डाटा इन्ट्री एन्ड रिपोर्टिङ एप्लिकेसन सिस्टम सफ्टवेयर खरिद गरेको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा खरिद गरिएका ६ वटा सफ्टवेयर अहिलेसम्म जिन्सीमा दाखिला नै नगरी गायब पारिएको खुलेको हो । खरिद भएको ६ वटै सफ्टवेयर जिन्सीमा दाखिला छैन । तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको पालामा विभिन्न प्रयोजनको लागि कार्यालयले ६ वटा कम्प्युटर सफ्टवेयर झन्डै ६५ लाखमा आपूर्तिकर्ता कम्पनीसँग खरिद गरेको थियो ।

कार्यालयका अनुसार अफिस अटो नोमेसन सिस्टम सफ्टवेयर १८ लाख ६२ हजार ८०५ रुपैयाँमा ड्राई आइस सोलुसन काठमाडौंबाट खरिद गरिएको थियो । यस्तै प्रोजेक्ट परफरमेन्स इन्फरमेसन स्टिम सफ्टवेयर ड्राई आइस सोलुसनबाटै १८ लाख ६६ हजार ७६० रुपैयाँमा खरिद गरिएको थियो । पर्सनल इनरफरमेसन सिस्टम (पीपीआईएस) १२ लाख ७५ हजार ५३४ हजारमा हिमालयन इन्स्टिच्युट अफ टेक्नोलोजी, काठमाडौंबाट आपूर्ति गरिएको हो ।

कन्ट्रयाक्ट म्यानेजमेन्ट इनफरमेसन सिस्टम (सीएमआईएस) ४ लाख ९५ हजार ९५७ रुपैयाँमा एस्टर इनोभेसन ललितपुरबाट र डाटा इन्ट्री एन्ड रिपोर्टिङ एप्लिकेसन सिस्टम हुमला टेक्नोलोजी काठमाडौंबाट ४ लाख ६५ हजार ३६२ रुपैयाँमा खरिद गरिएको थियो । इनभेन्ट्री म्यानेजमेन्ट इनफरमेसन सिस्टम (आईएमआईएस) पिस नेपाल, काठमाडौंबाट ४ लाख ९५ हजार ७३१ रुपैयाँमा खरिद गरिएको हो ।