समाचार

आजको मौसम



काठमाडौँ, १४ भदौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेशको तराई, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।