काठमाडौँ, १४ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्थाको अन्त्य गरेको छ ।
यसअगाडि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहँदा सेवा प्रवाह र विकासनिर्माणका काममा अपेक्षाकृत सफलता हासिल हुन नसकेको गुनासो आएपछि मन्त्रालयले एकै पटक १९१ जना उपसचिव र शाखा अधिकृतलाई स्थानीय तहमा शुक्रबार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएसँगै स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने प्रवृत्तिको अन्त्य गरिएको हो ।
यसअगाडि २१० वटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा सञ्चालन हुँदै आएका थिए । गत असार ३१ गते भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएसँगै निमित्त प्रमुख प्रशासीय अधिकृतको अन्त्य गर्ने उद्घोष गर्दै आउनुभएको थियो । मन्त्रालयले यसअगाडि अहिलेसम्म स्थानीय तहमा नगएका कतिपय शाखा अधिकृत र उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित स्थानीय तहमा पठाएको थियो ।
मन्त्रालयका अनुसार १२२ जना उपसचिवमध्ये १०५ जनालाई नगरपालिकामा र ९७ जना शाखा अधिकृतमध्ये ८६ जनालाई गाउँपालिकामा खटाएर स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको अन्त्य गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्