राजनीति

नेताको कार्यशैलीमा सुधार ल्याउनु आवश्यक छ : मन्त्री गुरुङ



काठमाडौँ, १४ भदौ ।सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीमा जनमत सिर्जना गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

काठमाडौँमा शुक्रबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित पुस्तक लोकार्पण समारोहमा सम्बोधन गर्दै मन्त्री गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणाली हटाइयो भने संविधानको मूल मर्म नै मर्ने हुँदा यसको पक्षमा जनमत सिर्जना गर्नु आवश्यक रहेको धारणा राख्नु भएको हो ।

“कतिपय नेताकै बुझाइ के छ भने स्थायी सरकार नहुनुमा समावेशी प्रणाली बाधक हो भन्ने छ”, उहाँले भन्नुभयो, “जुन तर्कसङ्गत छैन । समावेशी स्थिर सरकारको बाधक होइन, बरु नेताको कार्यशैलीमा सुधार ल्याउनु आवश्यक छ ।”

निर्वाचन प्रणाली दोसी नभई नेताको नियत दोसी भएकाले जनमत निर्माणमा आदिबासीले साथ दिनुपर्नेमा उहाँले सुझाव दिनुभयो । आदिवासी जनजातिको मुभमेन्ट सामाजिक र सांस्कृतिक क्षेत्रमा मात्रै केन्द्रीत भएको बताउँदै उहाँले अब राजनीतिक र आर्थिक गतिविधिमा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो । मन्त्री गुरुङले सङ्घीयता आएपछि सीमान्तकृत समुदायले के कस्ता उपलब्धि हासिल गरे भन्ने विषयमा तथ्याङ्कगत अध्ययन गर्नुपर्ने सुझाव दिनुभयो।