राजनीति

लिपुलेक विवाद नेपाल–भारतले समाधान गर्ने विषय हो: राष्ट्रपति सी



काठमाडौँ, १५ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल र भारत दुई पक्षले लिपुलेक विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसित शनिबार (भदौ १४) तियानजिन अतिथिगृहमा दुईपक्षीय भेटवार्ताका क्रममा उनले नेपालको दाबीलाई आफूहरूले कमी नमान्ने बताएका हुन् ।

नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच गरिएको सहमतिबारे राष्ट्रपति सीसमक्ष प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा आपत्ति जनाएका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।

जवाफमा सीले नेपाल–भारत सीमा विवादमा आफूहरूले कसैको पक्ष लिन नचाहेको बताए । “हाम्रो परम्परागत रूपमा नाका प्रयोग भइआएको तर तपाईंहरूको जुन सीमा विवाद हो, त्यसमा हामी पक्ष बन्न चाहँदैनौँ । तपाईंहरू दुई पक्षले समाधान गर्ने विषय हो । र, त्यसमा नेपालको दाबीमा हाम्रो कुनै पनि प्रकारको सम्झौता अथवा कमी होइन भन्ने तपाईंहरूले बुझिदिनुहोला भन्ने उहाँ (सी)को प्रतिउत्तर थियो,” राईले भने ।

यही भदौ ३ गते भारत र चीनबीच भारत नियन्त्रित नेपाली भूमि लिपुलेकबाट व्यापार पुनः सुचारु गर्ने सहमति भएको थियो । त्यसपछि नेपालमा भारतको व्यापाक आलोचना भइरहेको छ ।