राजनीति

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै



काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्कँदै छन् ।

उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए भने एससिओ शिखर सम्मेलनलाई सम्बोधन पनि गरेका थिए । शिखर सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान झेङसहित रुसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।