Banner News

सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक : मन्त्री पौडेल



काठमाडौँ, १८ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् । 

आज मन्त्रालयमा आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘खासगरि अहिले चाहीँ हामीले यो पटकको बजेटमा काठमाडौँमा एउटा अटिजम स्कुल बुढानीलकण्ठ वडा नम्बर ४ मा चाहीँ जग्गा छ, त्यहाँ भवन बन्ने प्रक्रिया सुरु भएको छ । यसको डिपिआर पनि हामीलाई उपलब्ध छ । त्यसमा हामीले बजेटमा नै ३ करोड रुपैयाँ, त्यो धेरै त होइन तर हामीले शीर्षक उल्लेख गरेको स्थिति छ । हामीले चाहिँ त्यसलाई रफ्तारमा अगाडी बढाउँदै छौँ र काठमाडौँमा अटिजम स्कुल हामीले बनाएर नै छाड्छौँ । त्यसमा चाहिँ काठमाडौँ महानगरपालिकाका मेयरले पनि त्यसमा चाहना राख्नुभएको छ । उहाँहरूसँग पनि समन्वय गरेर हामीले चाहिँ त्यसलाई अगाडी बढाउनेछौँ । र व्यवस्थित अटिजम स्कुल चाहीँ हामीले काठमाडौँमा पहिलो चरणमा निर्माण गर्नेछौँ र यो सातै प्रदेशमा कम्तीमा एक/एक वटा प्रारम्भिक चरणमा आवश्यक छ । यसलाई पनि हामी दीर्घकालीन परियोजनाको रूपमा अगाडी बढाउने कुरा चाहिँ यहाँहरूको बीचमा राख्न चाहन्छु ।’