समाचार

नक्कली भारतीय नोटसहित ५ जना पक्राउ



काठमाडौँ, २१ भदौ । कञ्चनपुरमा पाँच सय दरका नक्कली भारतीय रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमा नक्कली नोट बोकेको भन्ने विशेष सूचनाका आधारमा पाँच सय भारतीय रुपैयाँका १४७ नोटसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुई नेपाली र तीन जना भारतीय रहेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साह बस्ने ३२ वर्षीय सौगात बहादुर सिंह, २४ वर्षीय चन्द्र बोहरा, भारतको बरेली तेसिलमिगञ्ज ग्राम बस्ने २५ वर्षीय कुलदीप चतुर्बेदी, बरेली फटितेगञ्ज बस्ने २० वर्षीय अमित यादव र भारत बरेली उदमासिहंनगर उत्तराखण्ड बस्ने २४ वर्षीय हिंमासु शर्मालाई पक्राउ गरिएको हो ।

शुक्लाफाँटा नगरपालिका-३ जोनापुरस्थित नेपाली सेना श्री रणसिंह सुरक्षा गण पोस्टले गाडी रोकी चेकजाँच गर्दा नक्कली नोटसहित गाडी नियन्त्रणमा लिइएको हो ।

गाडीमा सवार पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।