राजनीति

एआईको प्रयोग गर्नेबारे सोच्दैछौं : सभामुख घिमिरे



काठमाडौँ, २१ भदौ । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा एआईको उपयोगबारे अध्ययन भइरहेको बताएका छन् ।

आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भने, ‘कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले दैनिक जीवनलाई सहज र प्रभावकारी बनाएको छ । नियमित स्वास्थ्य परीक्षणमा भिडियो मार्फत सुझाव लिन सकिने, रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सकिने, दूरदराजमा टेलिमेडिसिन सेवा उपलब्ध गराउन सकिने र आपतकालीन अवस्थामा प्रारम्भिक चेतावनी प्रणालीबाट जोखिम घटाउन सकिने जस्ता धेरै सकारात्मक प्रभाव छन्,’ ।

नेपालको सन्दर्भमा पनि एआईले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्नसक्नेमा दुईमत नरहेको सभामुख घिमिरेले बताए । ‘विभिन्न क्षेत्रका निर्णय प्रक्रियामा एआई को विश्लेषणात्मक क्षमता उपयोगी हुन्छ, जसले समय र स्रोत दुवैको बचत गर्छ,’ उनले भने ।

सभामुख घिमिरेले एआईका गम्भीर बेफाइदाबारे पनि सचेत रहनुपर्ने बताए । ‘गलत सूचना र भ्रम फैलाउने ‘डीपफेक’ प्रविधि, साइबर ठगी तथा संवेदनशील व्यक्तिगत डेटा चोरी हुने सम्भावना लगायतका समस्या बढिरहेका छन्’ उनले भने, ‘कृत्रिम बुद्धिमत्ताले मानव श्रमलाई विस्थापित गर्ने खतरा पनि छ, जसले बेरोजगारी बढाउन सक्छ ।’