काठमाडौँ, २५ भदौ । नेपाल प्रहरीले राष्ट्रहितका खातिर क्रियाशील हुन आग्रह गरेको छ ।
विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको प्रहरीले बताएको छ ।
प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै सोमबार जेनजीको आह्वानमा आयोजित शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा भएका घटनाबाट प्रहरी संगठन मर्माहत भएको बताएको छ ।
“यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदीबहिनी नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनीकरणका लागि जम्मेवारी बोधका साथ मुलुकप्रति समर्पित हुन आवश्यक भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनका क्रममा भएको जनधनको क्षति अपूणीय एवं दुःखद् भएको, त्यसबाट उत्पन्न परिणामस्वरुप परिस्थितिलाई बिग्रन नदिन, नागरिक र प्रहरीका साझेदारीपूर्ण, शान्तिपूर्ण, सहकार्य आवश्यक रहेको प्रहरीले बताएको छ ।
आन्दोलनका क्रममा भएका घाइतेहरुको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनःस्थापनार्थ निर्वाह गर्नुपर्ने दायित्वमा एकाकार हुन प्रहरीले अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्