काठमाडौँ, ३ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र आम जनतालाई एक ढिक्का भएर अगाडि बढ्न आह्वान गरेकी छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै उनले वि.सं. २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी भएको संविधानलाई नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको ऐतिहासिक उपलब्धि रहेको बताइन् ।
शुभकामना सन्देशमा भनिएको छ, “वर्तमान परिस्थितिमा दलहरू बिचको आपसी प्रतिस्पर्धालाई थाँती राख्दै, मनोमालिन्यता र तिक्ततालाई हटाएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का बन्नु पर्दछ । संविधान दिवसले यस दिशामा लाग्न हामी सबैलाई अभिप्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।”
संविधानको पालना र कानुनको शासन लोकतन्त्र सुदृढ बनाउन अपरिहार्य रहेको बताउँदै भण्डारीले भनिन्, “लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, सामाजिक न्याय, समावेशिता, समानता जस्ता अवधारणालाई अङ्गीकार गरेको वर्तमान संविधानको रक्षा गर्न राजनीतिक दल, नागरिक समाज र आम जनता मिलेर अगाडि बढ्नु पर्दछ ।”










प्रतिक्रिया दिनुहोस्