काठमाडौँ, ५ असोज । बालबालिकाको क्षेत्रमा क्रियाशील संस्थाहरूको राष्ट्रिय सञ्जाल बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालबालिका शान्ति क्षेत्र हुन्, उनीहरुलाई आन्दोलन, विद्रोह, प्रदर्शनीहरुमा सहभागिताका लागि प्रेरित गर्न नपाइने बताएको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले शनिवार राजधानीमा भदौ २३ र २४ गते भएको प्रदर्शनमा बालबालिका स्कुल, कलेजको पोसाकमै आउन आव्हान गरेको र प्रहरी र प्रदर्शनकारीको मुठभेडमा धेरै बालबालिका र किशोर, किशोरीको ज्यान गएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा त्यस्तो घटना नदोहोरियोस् भन्ने लक्ष्यले नीति बनाउँदै नागरिक समाज पनि चनाखो हुनुपर्नेमा सहभागीले जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सह–सचिव नवराज सापकोटाले आन्दोलन, विद्रोह र प्रदर्शनका घटनामा सहभागी हुन दिन त पाइदैन, शान्तिपूर्ण आन्दोलनमा आफुखुसी सहभागी भएका बालबालिका, किशोर, किशोरीमाथि बल प्रयोग नगर्ने नीतिमा ध्यान नदिइएको पाइएको बताउनुभयो ।
उहाँले गत भदौ २३ र २४ गतेको घटनापछि निम्तिने स्थितिले नेपालका बालबालिका, किशोर, किशोरीमा मनोसामाजिक समस्या पर्ने, आमाबुवाको रोजगारीमा अवरुद्ध हुँदा शिक्षा, स्वास्थ्य, पोषणबाट समेत बालबालिका बञ्चित हुने खतराबाट संरक्षण गर्नुपर्ने दायित्व समेत थपिने बताउनुभयो ।
सो घटनाले नेपाली बालबालिका तथा किशोर, किशोरीको मानव अधिकार हनन त भइनै सक्यो, अब आगामी दिनमा पर्न सक्ने समस्याप्रति समेत नागरिक समाज, र राज्य संवेदनसिल हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिका, किशोर, किशोरीले भोग्ने समस्या, हिंसा, दुर्व्यवहार र बाल अधिकार हनन्का घटनाहरूमा न्यायको लागि विशेष पहल गर्दै आएको अभियानले विद्यालय र बालबालिका शान्तिक्षेत्र अभियानको प्रवर्धनका साथै बाल अधिकार सुशासनका लागि क्रियाशील रहने उद्देश्यका लागि काम गर्ने बताउँदै भदौ २३ र २४ गतेको घटनाबारे दु्रत प्रतिवेदन तयार गरेको बताउनुभयो ।
उहाँले बालबालिकालाई भ्रष्ट्राचार, सामाजिक सञ्जाल वन्द विरुद्ध आन्दोलन, प्रदर्शनमा स्कुलको ड्रेसमै आए गोली हान्दैनन, वा केही गर्दैनन् जस्ता आश्वसन दिएर सडकमा बोलाउने पक्षहरुलाई बालबालिका शान्ति क्षेत्र हुन्, र सम्भावित खतरालाई समेत आकलन गर्न नसक्दा बढि समस्या भएको बताउनुभयो ।
आगामी दिनमा यस्ता विद्रोहमा बालबालिका प्रयोग नहुन्, भन्ने उद्देश्यका साथ बनेका नीतिबारे पनि बुझाउन आवश्यक देखिएको पनि बताउनुभयो ।
सो अभियानका महासचिव राजु घिमिरेले भदौ २३ र २४ गते भएको प्रदर्शनमा बालबालिका र किशोर, किशोरी मारिएको, घाइते भएको घटनाबारे स्वास्थ्यकर्मी, पत्रकार, प्रदर्शनमै सहभागिता जनाएका व्यक्तित्वहरुसँग जुम वैठकमार्फत देशव्यापी छलफल गरी दु्रत प्रतिवेदन तयार गरिएको बताउनुभयो ।
उहाँले प्रतिवेदन प्रस्तुत गर्दै यस्ता घटनामा संलग्न वा घरमै बसेर घटनाबारे बुझेका बालबालिका असुरक्षाको महसुस गरिरहेका सानो, तिनो आवाजले तर्सने, एक्लै वस्न नसक्ने, बत्ती जाँदा आत्तिने गरेको पाईएकाले यस घटनाले बालबालिकामा मानसिक असर देखिएको बताउनुभयो ।
उहाँले सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्दै बालअधिकार हनन् हुन नदिन सचेत गराइएको र आगामी दिनका यस्ता घटनामा बालबालिका प्रयोग नहुन् भन्ने लक्ष्यले विभिन्न सिफारिस गरिएको बताउनुभयो ।
बालअधिकार अभियन्ता तारक घितालले नेपालमा हुने हरेक द्वन्द्वमा बालबालिकालाई प्रयोग गर्दै आएको र सबै घटनामा बालबालिका नै बढि प्रभावित हुँदै आएकोले नागरिक समाज र सरकारको सहकार्यमा विशेष कार्यक्रम र नीति बनाएर सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।
बालअधिकारकर्मी रितु भट्ट राईले भन्नुभयो,“भदौ २३ र २४ गतेको घटनापछि जेन्जी समुहलाई खिसीट्युरी गर्ने पनि बढेको छ, अहिलेका जेन्जी कुरा नबुझ्ने छैनन्, देशमा सुशासन खोज्नु, उनीहरुको गल्ती पनि होइन, बालबालिकालाई राजनीतिबारे पनि बुझाउन आवश्यक छ भने शान्तिपूर्ण आन्दोलन, प्रदर्शनमा १८ वर्ष भन्दा माथिकालाई सहभागीता जनाउने हक भएपनि उनीहरुको सुरक्षाको ग्यारेन्टी भने आयोजक र सरकारको पनि हो ।”
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान(सिजप) र सेभ द चिल्ड्रेनले संयुक्त रुपमा नेपालमा ’जेन जी’ नेतृत्वको राजनीतिक आन्दोलनमा बालबालिका तथा युवाको अधिकार उल्लङ्घन र तत्कालका आवश्यकताहरूको दूत मूल्याङनबारे प्रतिवेदन तयार गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्