काठमाडौँ, ८ असोज । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित नेपाली राजदूतावासले विभिन्न पेसा तथा व्यवसायमा यूएईमा कार्यरत नेपालीलाई स्थानीय कानुन, नियम, मूल्य मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
पछिल्लो समयमा यूएईमा कार्यरत नेपाली श्रम, बैंकिङ कारोबार, सामाजिक व्यवहार, साइबर क्राइम, ट्राफिक नियम, स्वतन्त्र भिसाको दुरुपयोगमा संलग्न भएको गतिविधि बढेपछि दूतावासले सचेत गराएको हो ।
जसमा यूएईको विद्यमान श्रम, कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गर्ने, रोजगारदाता परित्याग गरी भाग्ने कार्य नगर्न, आफूले काम गर्ने कम्पनी वा संस्थासँगको वैधानिक सम्झौता मिच्ने कार्य नगर्न भनिएको छ ।
दूतावासले पासपोर्ट, इमिरेट्स कार्ड वा बैंकिङ कागजात अरूलाई नदिने, फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत अनुचित पोस्ट नगर्ने, अनधिकृत संस्था वा समूह गठन नगर्ने, दूतावासलाई पूर्वजानकारी दिएर मात्र सांस्कृतिक वा धार्मिक कार्यक्रम गर्ने र आपसी ऐक्यबद्धता, सद्भाव र सहकार्यका आधारमा नेपाली समुदायलाई एकताबद्ध राख्न पनि आग्रह गरेको छ । दूतावासले नियम उल्लंघन गर्ने खण्डमा कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनीसमेत दिएको छ ।
यूएईले नेपालीका लागि श्रम र भिजिट भिसा बन्द गरेको पृष्ठभूमिमा दूतावासले यस्तो सूचना जारी गरेको हो । यूएईले सेप्टेम्बर ८ यता भिजिट र श्रम भिसा जारी गरेको छैन । भिसा बन्द गर्नुको कारणबारे भने यूएईले औपचारिक जानकारी गराएको छैन । यूएईमा हाल ८ लाख नेपाली रहेका छन् । गत वर्ष मात्रै २ लाख ६४ हजार नेपाली यूएई गएका थिए ।










प्रतिक्रिया दिनुहोस्