राजनीति

मन्त्री घिसिङद्वारा दसैँमा यात्रा गर्ने चालक र यात्रुलाई सडक सुरक्षामा विशेष ध्यान दिन आग्रह



काठमाडौँ, ८ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दसैँमा यात्रा गर्ने चालक र यात्रुलाई सडक सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् । 

आज उनले फेसबुकमार्फत सार्वजनिक सन्देश दिँदै यात्रामा सजगता अपनाउन अनुरोध गरेका हुन् ।

उनले लेखेका छन्, सम्पूर्ण चालक तथा यात्रुहरूमा बिशेष​ अनुरोध :

“तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो ।” त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस् ।

चालक साथीहरूलाई अनुरोध:

-गति नियन्त्रणमा राख्नुहोस्,

-मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस्,

-विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस्,

यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्‍याउनुहोस् ।

यात्रु दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध:

-क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपारौं,

-चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौं,

-यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔं ।

-यस दशैंमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो ।

सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुशी हो, र परिवारको खुशी नै हाम्रो राष्ट्रको शक्ति हो ।

यहाँहरु सम्पूर्णलाई दशैको हार्दिक शुभकामना