समाचार

दूध संकलन गर्ने भ्यान सुनकोशी नदीमा खस्यो



काभ्रेपलाञ्चोक, १० असोज । दूध संकलन गर्ने भ्यान अरनिको राजमार्गबाट सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बाट आज बिहान भ्यान सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान काभ्रेको पनौती नगरपालिका–१०, पस्थलीका करिब २२–२३ वर्षका नवराज खुलालले चलाएका थिए । सो भ्यान सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

चौतारा साँगाचोकगढी–१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको उक्त गाडीमा चालक मात्र सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चालकको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।