समाचार

आज देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै



काठमाडौँ, ११ असोज । पहाडमा बसेर संसारमा रहेका जीवहरूमा नवचेतना प्रदान गर्ने देवीको रूपमा स्कंदमातालाई आश्विन शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो ।

यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ । कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुन्छ । यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ ।

सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएको छ । स्कन्दमाता स्वरूपिणी देवीका चार हातहरू छन् ।