राजनीति

भड्किलो जीवन पद्धतिलाई परिवर्तन गर्नु जरुरी छ : अध्यक्ष दाहाल



काठमाडौँ, १३ असोज । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भड्किलो जीवन पद्धतिलाई समयानुकूल परिवर्तन गर्नु जरुरी रहेको बताएका छन् । 

विजया दशमीको उपलक्षमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाली जनतामा देखिएको निराशा, आवेग र अपेक्षालाई पूरा गर्न र राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लाग्न सबैलाइ आह्वान गरेका छन् । 

अध्यक्ष दाहालले भनेका छन्, “फजुल खर्च, परम्परा र संस्कारका नाममा गरिने कुप्रथा र विकृतिबाट मुक्त भई पारिवारिक जमघट, खुसियाली आदानप्रदान र सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारका रूपमा हर्षोल्लासपूर्वक दसैँं मनाउन म सबैलाई आग्रह गर्दछु ।”

सन्देशमा भनिएको छ, “हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कारको संरक्षण गर्ने तथा अन्धविश्वास र भड्किलो जीवन पद्धतिलाई समयानुकूल परिवर्तन गर्नु उत्तिकै जरुरी छ ।”