Banner News

नवरात्रको आठौँ दिन: आज महागौरीको पूजा गरिँदै



काठमाडौँ, १४ असोज । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ ।

दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ ।

आजको दिन विभिन्न शक्तिपीठहरूमा बलि दिइन्छ । सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ । सात्त्विक पूजामा जल, चन्दन, अक्षत आदिसहित षोडशोपचारले पूजा गरिन्छ । सात्त्विक र राजसमा पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ । राजस पूजामा मदिरा चढाएर पूजा गर्ने र पशुबलि दिने परम्परा छ । पशुबलि नचढाउनेहरूले भने पूजा कोठामा आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवल आदिलाई बलि चढाई पूजाआजा गर्ने गर्छन् ।

यस दिन आफूले प्रयोग गर्ने कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने परम्परा छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।