समाचार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु



लमजुङ, १४ असोज । राइनास नगरपालिका–३, नौबिसे नजिक पाउँदी–बोराङखोला सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा राइनास ३, टिमुरे निवासी २३ वर्षीय समिर ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठकुरीलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका क्रममा धमिलीकुवास्थित सहोदर अस्पतालमा मृत भएको थियो ।

प्रहरीका अनुसार सोमबार राति टिमुरेबाट सातबिसेतर्फ जाँदै गरेको ग २४ प १६३० नम्बरको मोटरसाइकल करिब ११:५० बजेतिर अनियन्त्रित भई सडकको दायाँपट्टी नालीमा खस्दा चालक ठकुरी गम्भीर घाइते भएका थिए ।

उक्त मोटरसाइकलमा सवार टिमुरेकै २६ वर्षीय देवराज ठकुरी घाइते भएका छन् । उनलाई सहोदर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।