समाचार

वीरगन्जमा ‘ग्याङ फाइट’ : एकको मृत्यु, तीन जना पक्राउ



वीरगन्ज, १५ असोज । वीरगन्जमा आयोजित दसैँ मेलामा मंगलबार राति दुई समूहबीच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ ।

पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवादका कारण झगडा चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका (सनाखत हुन बाँकी) युवकको मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबीच हिंसात्मक रूप लिँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकासँग सोधपुछ भइरहेको र घटनाबारे थप विवरण सङ्कलन गर्न सूक्ष्म अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।