अर्थ

विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी नगदमा नराख्न अर्थ मन्त्रालयको आग्रह



काठमाडौँ, १६ असोज । अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्न आग्रह गरेको छ । 

बुधबार राति अर्थमन्त्रालयले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत यस्तो आग्रह गरेको हो । विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाउने सूचनामा उल्लेख छ । 

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मन्त्रालयले भनेको छ, ‘विदेश भ्रमणबाट फर्किदा बचत भएको विदेशी मुद्रा वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा नगदमा राख्न पाउने। नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५००० अमेरिकी डलर वा सो बराबरको रकम भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाउने र सो भन्दा बढी रकमको हकमा भन्सार विन्दुमा घोषणा गर्नुपर्ने ।’