राजनीति

जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन



काठमाडौँ, १८ असोज । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम बढेकाले सतर्कता अपनाउन आह्वान गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मौसम विभागको चेतावनीअनुसार विभिन्न क्षेत्रमा उच्च जोखिम देखिएकाले जनसमुदायलाई सुरक्षित रहन अपिल गरेका हुन्। प्रचण्डले तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दै पार्टीका नेता–कार्यकर्तालाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशनसमेत दिएका छन् ।

उनले भनेका छन्, ‘मौसम विभागको चेतावनीअनुसार देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम छ । जोखिमजन्य क्षेत्रमा सबै जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गर्दछु । साथै, तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र विपद् प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दछु । हाम्रो पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशन दिन्छु ।’