राजनीति

नयाँ पार्टीले ‘पृथ्वीपथ’ अङ्गाल्नुपर्छ: वरिष्ठ उपाध्यक्ष मिश्र



काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र जेन्जी आन्दोलनपछि नयाँ नयाँ पार्टी खुल्ने चर्चा भइरहेको भन्दै उनीहरूलाई ‘पृथ्वीपथ’ अङ्गाल्न सुझाव दिएका छन् । 

उनले थप भनेका छन्, ‘नयाँ खुल्ने पार्टीले शुरूमैँ पृथ्वीपथलाई अङ्गीकार नगरेर प्रचण्डपथलाई नै अँगाल्यो भने त्यो जेन्जी लगायत भावी पुस्ताका लागि महा-दुर्भाग्यपूर्ण हुनेछ।  जसले जति नै बचाऊ र व्याख्या गरे पनि प्रचण्डको संविधान २०७२ ले अन्ततोगत्वा नेपाललाई अस्तित्वको सङ्कटमा पुर्‍याउने छ। त्यसले सृजना गर्ने अशान्ति र अस्थिरता नेपालीका लागि मात्र होइन, छिमेकी, खासगरी भारतका लागि पनि सुखद रहने छैन ।’

उनले भनेका छन्, ‘२०७४ सालमा ‘प्रचण्डको संविधान २०७२’ को वैचारिकतालाई आत्मसात् गर्दै ‘प्रचण्ड पथगामी’ पार्टी सुरु गरेर मैले जिन्दगीकै सबैभन्दा ठुलो भूल गरेँ कि जस्तो लाग्छ। यद्यपि त्यतिबेलाको धरातलीय यथार्थ फरक थियो ।  तर गलत बाटोमा छु भन्ने अनुभूति भएपछि ५ वर्षपछि गाली र घृणाको वर्षामा रुझ्दै मार्ग परिवर्तन गरेँ।’